४ सय ४० किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा
- समाचार
- June 22, 2026

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।
वैशाख २९ गते राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। प्रहरीले एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा प्याक गरी राखिएको अवस्थामा ४ सय ४० किलोग्राम गाँजा फेला पारेको जनाएको छ।
गाँजा बरामद भएपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रालि, धरानद्वारा सञ्चालित रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधको उत्पादन, सञ्चय, बिक्री–वितरण, ओसारपसार तथा सेवन कानुनअनुसार दण्डनीय अपराध भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।