तेह्रथुमको चोःत्लुङ पार्कमा भेटियो कीरा खाने दुर्लभ वनस्पति ‘ड्रोसेरा लुनाटा’
- समाचार
- June 22, 2026

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित चोःत्लुङ पार्कमा कीरा खाने दुर्लभ वनस्पति ‘ड्रोसेरा लुनाटा’ (सन्ड्यु) फेला परेको छ। यो वनस्पति कीटभक्षी अर्थात् साना कीरा तथा झिङ्गा समातेर पोषण प्राप्त गर्ने विशेष प्रकृतिको रहेको अनुसन्धानबाट पुष्टि भएको छ।
वनस्पति अनुसन्धानकर्ता तथा प्रकृतिप्रेमीहरूको अध्ययनअनुसार यस वनस्पतिका पातमा रहेका चिप्ला टेन्टाकल्सहरूले साना कीराहरूलाई आकर्षित गरी समात्छन्। त्यसपछि विशेष पाचन एन्जाइमको सहायताले कीरालाई विघटन गरेर आवश्यक पोषक तत्त्व ग्रहण गर्ने गर्दछ।
यसअघि नेपालमा पाइने यो प्रजातिलाई ‘ड्रोसेरा पेल्टाटा’ भनेर चिनिने गरिएको भए पनि पछिल्ला अध्ययनहरूले यसको सही वैज्ञानिक नाम ‘ड्रोसेरा लुनाटा’ रहेको पुष्टि गरेका छन्। यो निष्कर्षलाई अन्तर्राष्ट्रिय वनस्पति अध्ययन तथा क्यु रोयल बोटानिकल गार्डेनको ‘प्लान्ट्स अफ द वर्ल्ड अनलाइन’ ले समेत स्वीकार गरेको छ।
चोःत्लुङ पार्कमा पाइने यो दुर्लभ वनस्पति खुला घाँसे पाखा तथा घाम लाग्ने स्थानमा उम्रिने गरेको छ। यसको संरक्षण र प्रवर्द्धन गर्न सके पार्कको वैज्ञानिक, शैक्षिक तथा पर्यटकीय महत्व थप वृद्धि हुने विज्ञहरूको भनाइ छ।
अनुसन्धानकर्ताहरूले स्थानीय तह तथा पार्क व्यवस्थापनलाई यस वनस्पतिको प्राकृतिक वासस्थान संरक्षण गर्न, जानकारीमूलक बोर्ड राख्न तथा पर्यावरणीय पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न सुझाव दिएका छन्। यसले तेह्रथुमलाई दुर्लभ जैविक सम्पदाको गन्तव्यका रूपमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।