एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया
- समाचार
- June 22, 2026

लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। मर्सी र गुडनेस नामका ती जुम्ल्याहा बालबालिका अहिले पूर्ण रूपमा स्वस्थ हुँदै तेस्रो वर्षमा प्रवेश गरेका छन्।
सन् २०२३ जुनमा जन्मिएका उनीहरूको टाउको, मस्तिष्कको केही भाग तथा रगत बग्ने नसाहरू आपसमा जोडिएका थिए। उनीहरू ६ महिनाको हुँदा बेलायतस्थित ‘जेमिनी अनट्वाइन्ड’ नामक संस्थाको पहलमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार प्रक्रिया सुरु गरिएको थियो।
चिकित्सकहरूले चार महिनाको अवधिमा चारवटा जटिल शल्यक्रिया गरेका थिए। शल्यक्रियामा मात्र करिब ४० घण्टा समय खर्चिएको बताइएको छ। अन्तिम तथा मुख्य शल्यक्रिया १२ घण्टा लामो रहेको थियो, जसको नेतृत्व प्राध्यापक नुर उल ओवासे जिलानीले गरेका थिए।
शल्यक्रियाको तयारीमा विश्वका २० देशका ६० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी संलग्न थिए। उनीहरूले एआई, भर्चुअल रियालिटी (VR) र थ्रीडी मोडलिङ जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरी मस्तिष्क र रक्तनलीहरूको संरचना अध्ययन गरेका थिए। यसले शल्यक्रियाको जोखिम कम गर्न र योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको चिकित्सकहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार टाउको जोडिएका जुम्ल्याहा बालबालिका जन्मिने सम्भावना अत्यन्तै दुर्लभ हुन्छ। यस्तो अवस्था करिब २५ लाख जन्ममध्ये एकपटक मात्र देखिने गरेको बताइएको छ।
जुम्ल्याहा बालबालिकाको उपचारमा विशेषज्ञता हासिल गरेको ‘जेमिनी अनट्वाइन्ड’ संस्थाले हालसम्म विश्वभरका ९ जोडी टाउको जोडिएका जुम्ल्याहाको सफल उपचार गरिसकेको जनाएको छ।