एमालेसँग तालमेल गरेका भोजपुरका तीन माओवादी उम्मेदवार पार्टीबाट निष्कासित
- राजनीति
- April 27, 2022
भोजपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ ।
मंगलबार माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एक वक्तव्य जारी गर्दै एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई निष्कासन गरिएको जनाएको हो ।
मंगलबारदेखि पार्टीको साधारण सदस्यबाट निष्कासित हुनेमा भोजपुर नगरपालिका -११, आम्तेकका मोहनसेन राई, षडानन्द नगरपालिका -९ का शेखर तामाङ र षडानन्द नगरपालिका- १३ का ओम कुमार श्रेष्ठ रहेका छन् ।
प्रतिगमन विरोधी गठबन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै बाहिरी दलको चुनाव चिह्न लिई मनोनयन दर्ता गरेको हुँदा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको पार्टीले जनाएको छ ।
माओवादीले जिल्लाका अन्य स्थानमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएकाहरुलाई पनि तत्काल उम्मेदवारी फिर्ता लिई पार्टीको नियमित काममा फर्किन निर्देशन दिएको छ ।