हतुवागढीका वडाहरूबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
- समाचार
- June 4, 2025

२१ जेठ, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकामा वडाहरूबाटै राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन हुने भएको छ।
हतुवागढी गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालयले वडाहरूबाटै विवरण सङ्कलन गर्न लागेको हो ।
सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य व्यवस्था रहेको छ । कतिपय वृद्धवृद्धाहरूको राष्ट्रिय परिचय पत्र अध्यावधिक नरहेकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको सहजताका लागि वडाहरूबाटै विवरण सङ्कलनको ७ दिने शिविर सञ्चालन गर्न लागिएको हो।
मङ्गलबार पालिकाले एक सूचना जारी गर्दै ७ दिने राष्ट्रिय परिचयपत्र शिविरको स्थान र समयतालिका सार्वजनिक गरेको हो । जस अनुसार जेठ २२ गते दुई नम्बर वडा कार्यालय लुङ्गिन, २३ गते १,४ र ५ नं. वडाका लागि घोडेटार, २४ गते ६ नं वडाकार्यालय होमताङ, २५ गते ७ र ८ नं वडाका लागि पातलेपानी स्वास्थ्य चौकी, २६ गते ९ नम्बर वडाकार्यालय हसनपुर र २७ गते ३ नम्बर वडा कार्यालय सिन्द्राङमा विवरण सङ्कलन हुने सूचनामा उल्लेख छ ।सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि ९० वर्ष माथि उमेर समूहका वृद्धवृद्धा र पूर्ण अपाङ्गताको लागि राष्ट्रिय परिचयपत्र आवश्यक छैन । उक्त शिविर सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि मात्र रहेको जनाइएको छ ।

