हतुवागढीमा २८ र २९ गते मतदाता परिचयपत्र वितरण, आ-आफ्नो मतदान केन्द्रबाट लिन सकिने
- समाचार
- May 9, 2022
वैशाख २६, घोडेटार । भोजपुरको हतुवागढीका सबै मतदान केन्द्रमा २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने भएको छ ।
यहि ३० गते हुन लागेको स्थानीय निर्वाचन २०७९ मा मतदान गर्ने मतदाताहरुको लागि परिचयपत्र वितरण गर्न लागिएको हो ।
स्थानीय निर्वाचन कार्यलय हतुवागढीका निर्वाचन अधिकृत राजेशबाबु घिमिरेका अनुसार वैशाख २८ देखि २९ गते सम्म नयाँ मतदाता परिचयपत्र वितरण गरिने छ ।
२७ गते नै सम्बन्धित मतदान केन्द्रहरुमा मतदान अधिकृत सहितका कर्मचारी खटिने भएकाले सोही दिन देखि मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
हतुवागढीमा गत मंसिस २८ देखि पौष ९ गते सम्म संकलन गरिएको मतदाता नामावलीको परिचय पत्र वितरण गरिने भएको हो । हालसालै संकलन गरिएका नयाँ मतदाता परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराउँदै घिमिरेले आ-आफ्नो मतदान केन्द्रमा तोकिएको समयमा मतदाता परिचयपत्र लिन आग्रह गरेका छन् ।
मतदाता परिचयपत्र लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र साथमा लिएर आउनु पर्ने हतुवागढी-४ मतदान केन्द्र खैराङका मतदान अधिकृत प्रकाश बान्तावाले बताए ।
२८ र २९ गते भित्र भोजपुर जिल्लाका सबै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण कार्य सम्पन्न गरिने निर्वाचन कार्यलय हतुवागढीले जनाएको छ ।