रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित
- राजनीतिसमाचार
- June 22, 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय गरिएको बन्दसत्र अन्ततः स्थगित भएको छ। बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र पटक–पटक समय सारिएपछि औपचारिक निर्णयमार्फत अर्को दिनका लागि सारिएको हो।
पार्टी स्रोतका अनुसार महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली टुंगो नलाग्नु बन्दसत्र स्थगित हुनुको प्रमुख कारण बनेको छ। विभिन्न प्रदेशबाट प्रतिनिधिको नाम छुटेको, दाबी–विरोध परेका तथा सूची संशोधनको काम जारी रहेकाले बन्दसत्र सञ्चालन गर्न कठिन भएको बताइएको छ। विशेषगरी मधेस प्रदेशका प्रतिनिधि चयनमा विवाद देखिएको छ।
प्रतिनिधिहरूलाई प्रवेशपत्र वितरणको काम पनि पूरा नभएकाले व्यवस्थापनमा थप समस्या देखिएको आयोजकहरूले बताएका छन्। बन्दसत्रका लागि तयार पारिएको हलमा सहभागीहरूको उल्लेख्य उपस्थिति रहे पनि कार्यक्रम कहिले सुरु हुन्छ भन्नेबारे लामो समयसम्म स्पष्ट जानकारी नदिइएको थियो।
रास्वपाका प्रवक्ता मनीष झाले पहिलो महाधिवेशन भएकाले तयारीका केही पक्षमा कमजोरी देखिएको स्वीकार गरेका छन्। अपेक्षाभन्दा धेरै प्रतिनिधि र कार्यकर्ता सहभागी भएपछि व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ।
यसबीच पार्टीभित्र केन्द्रीय समिति तथा पदाधिकारी चयन सहमतिबाट गर्ने कि निर्वाचनमार्फत टुंग्याउने भन्ने विषयमा समेत अन्योल देखिएको छ। करिब एक हजारजति नेता–कार्यकर्ता केन्द्रीय सदस्यका आकांक्षी रहेकाले सहमतिमा नेतृत्व चयन गर्न कठिन हुने नेताहरूको भनाइ छ।
महामन्त्री, उपसभापति तथा अन्य पदाधिकारीमा विभिन्न समूहबाट दाबेदारी बढ्दै गएपछि नेतृत्व चयनको प्रक्रिया थप जटिल बनेको छ। पार्टी नेतृत्व भने सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासमा रहेको बताइएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले शीर्ष नेतृत्वबाट स्पष्ट निर्णय र मार्गदर्शनको अपेक्षा गरेका छन्। बन्दसत्र अब मंगलबार आयोजना गर्ने तयारी भए पनि समय भने अझै तय भइसकेको छैन।