विधान अधिवेशनको तयारीमा जसपाः पहिचानको मुद्दाबारे केन्द्रित
- राजनीति
- January 31, 2023
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको गत पुस १८ र १९ गते सम्पन्न राजनीतिक समितिको बैठकले पार्टीको विधान अधिवेशन गर्ने निर्णय गर्यो । विधान मस्यौदा समितिले अहिले आफ्नो कामलाई तीव्रता दिएको छ ।
विधान अधिवेशन मूलरुपमा पार्टीले उठाएको पहिचानको मुद्दा र सांगठनिक संरचनाबारे केन्द्रित हुने देखिन्छ । जसपाको हालको विधानमा केन्द्रीय, प्रादेशिक र स्थानीय तहका विभिन्न सांगठनिक संरचनाहरुको व्यवस्था छ ।
खासगरी पहिचानमा आधारित लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, नेवा, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान र दलित÷शिल्पीविशेष (१०+१) राष्ट्रिय समितिहरु र सातवटा प्रदेशस्तरीय संरचना (जसपाले भन्ने गरेको प्रशासननिक संरचना) बीचशक्तिको बाँडफाँट रअधिकार क्षेत्रकाबारेमानेताहरुबीच फरक धारणा छन् ।
यीदुईखाले संरचनामध्ये राजकीय मामलामा हाल जसपाले प्रदेशस्तरीय समितिलाई कार्यकारी र पहिचानमा आधारित राष्ट्रिय समितिलाई समन्वयकारी हैसियत प्रदान गरेको छ ।
समग्रमा पहिचानको मुद्दाबारे पुनर्विचार गरौं भन्ने आवाज उठ्न थालेको छ । यस अर्थमा पहिचानको मुद्दा जसपाको विधान अधिवेशनको पेचिलो विषय बन्ने देखिन्छ । पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागहरुले अभिलेख सङ्कलनको कामलाई तीव्रता दिएका छन् ।