बेलायती राईहरुको जात्रा र अबको यात्रा

शेयर गर्नुहोस

डा• भक्त राई

मानिस जहाँ जहाँ पुग्छ त्यहाँ उसङ्गै उसको भाषा, संस्कृति र सभ्यता समेत पुगेको हुन्छ । त्यसैले आज बेलायतमा राईहरु मात्र पुगेको छैन त्यहाँ राईहरुसङ्गै उनीहरूको साकेला पुगेको छ, किनिमा पुगेको छ, ढुङरीबुलाकी र नौगेडी पुगेको छ, भाषा र परम्परा पुगेको छ । यसरी बेलायतमा राईहरुसङ्गै उनीहरूको खानपिन, वेशभूषा र नाचगान धर्मकर्म समेत पुगेको छ ।
सन्सारमा राई मात्र एउटा यस्तो जाति हो जसको तीसौँ प्रकारको भाषा छन् , अनेकौं प्रकारको थर,पाछा,सामेक छन् ,अलग अलग परम्परा र चालचलन छ्न् र अझै निरन्तर बन्ने क्रम जारी छ । यसको एक मात्र प्रमुख कारण हो एकले अर्काको सत्ता वा अस्तित्व नस्विकार्नु । आफ्नै दाजुभाइभित्र पनि एकले अर्काको अस्तित्वलाई स्वीकार नगर्दा नै अलग बस्ने मात्र होइन अलग पहिचान र अस्तित्वको खोजी गर्ने क्रममा कालान्तरमा अलग भाषा, थर, पाछा र परम्पराको निर्माण हुन पुग्यो पुगिरहेको छ । त्यसको पछिल्लो उदाहरणको रूपमा बेलायतमा बसोबास गर्ने राईहरुको भाँडभैलोलाई लिन सकिन्छ ।
बेलायतमा बसोबास गर्ने राईहरुको सांस्कृतिक विवादको प्रमुख कारण त्यहाँको राईहरुले किरात राई यायोक्खा नेपाललाई छाता संस्था मानेर त्यही संस्थाको ईशारामा हिड्नुलाई मान्न सकिन्छ । स्थायी रूपमा बेलायतमा बस्ने राईहरुले त त्याँहीको सरकारको कानुन अनुसार संस्था दर्ता गराएर त्याँहीको सम्पूर्ण राईहरुबीच व्यापक छलफल र बहस गरेर आफ्नो जातिको संस्कृति संरक्षणमा जुट्नु पर्ने थियो । बेलायतमा बस्ने राईहरुले नेपालमा बस्ने राईहरुको इशारा,निर्देशन र मातहतमा बसेर जातीय संस्कृति संरक्षण हुन्छ? हुन त किरात राई यायोख्खा नामक संस्थाले विश्वभर रहेको राईहरुको छाता संस्था वा विश्वभरका राईहरुको केन्द्र बन्ने प्रयास गरेको देखिन्छ तर त्यो असम्भव मात्र होइन गलत पनि छ । नेपालभित्र बसोबास गरिरहेको ७/८ लाख राईहरुलाई त समेट्न नसकी २/४ सय राईहरुमाझ हराइरहेको संस्थाले विश्वभरका राईहरुलाई जोड्न सक्छ? अर्को वास्तविक कुरा के हो भने एउटै जाति भए पनि विश्वभरका राईहरुलाई नेपालबाट सञ्चालन गर्न, निर्देशन गर्न वा आफ्नो संस्थाको मातहतमा राख्न मिल्छ? सक्छ? त्यसैले बेलायतमा बस्ने राईहरुले मात्र होइन विश्वका जुनसुकै देशमा बस्ने राईहरुले पनि कसैको मातहतमा नरही आफू बसेको मुलुककै कानुन अनुसार, आफू बसेकै मुलुकमा बस्ने राईहरुबीच व्यापक छलफल गरेर मात्र संस्थाको स्थापना र गतिविधि गर्नु जरुरी हुन्छ । अथवा कुनै पनि देशको मातहतमा नरही स्वतन्त्र एवं स्वायत्त संस्था सञ्चालन गर्नु पर्ने हुन्छ ।
बेलायती राईहरुबीचको विवादको कारण सामूहिक चुला स्थापना, चाम्लिङ खाम्बातिमको हस्तक्षेप, नेतृत्वको एकल निर्णय मात्र होइन मुख्य कुरो र चुरो के हो भने त्यो कार्यप्रतिको समर्थन र अनुमोदनको लागि नेपाल यायोख्खाप्रतिको हारगुहार र नेपाल यायोख्खाको एउटा पक्षको मात्र समर्थन र हस्तक्षेप हो । त्याहाँको समस्याको समाधान त्याँहीको राईहरुको हातमा थियो । त्याहाँ उत्पन्न भएको कुनै पनि समस्या त्याँहीको राईहरुबीच बसेर त्याँहीको संस्थाभित्र गर्नु पर्थ्यो । आर्मी हेडक्वार्टरले मातहतको निकायलाई ठाडो आदेश वा निर्देशन दिएजस्तो नेपालबाट त्यहाको संस्थाबारे बोल्ने कुनै अधिकार नै थिएन । हो किरात राई यायोख्खा बेलायतले आफूलाइ नेपालको यायोख्खाको भगिनी संस्था, भातृ संस्था वा शाखा,उपशाखा मान्छ भने त्यही नै ठुलो गल्ती हुनपुग्यो । किनभने त्यहाँ जेजस्तो भए पनि त्याँहीकै राईहरु बसेर समाधान खोज्नु पर्नेमा नेपालबाट समर्थन, निर्देशन र अनुमोदन गराउनु नै झन ठुलो भुल भयो । हो नेपालमा खुलेका आम जातीय संस्थाहरुलाई बाहुनहरुले नै चलाएको र ती संस्थामा बस्नेहरुले पनि आफ्नो जातीय हकहितको लागि खट्नुको सट्टा तिनै राजनीतिक दलको विश्वास पात्र बन्ने भर्याङको रूपमा मात्र काम गरेको देखिन्छ । त्यसैले आदिवासी जनजातिको हितको लागि खोलिएको भनिएको संस्थाहरु सबै बाहुनकै गोटी हुन पुगेका छन् । यो समस्याबाट किरात राई यायोखक्खा नेपाल अलग हुने कुरै भएन । यति मात्र होइन कि किरात राई यायोख्खा कुन पार्टी पक्षधरले कब्जा गर्ने,कुन थरिराईले, कुन भाषिक राईले कब्जा गर्ने जस्ता सङकिर्णताको दलदलमा समेत फसेको छ। नेपाली राईहरु न हुन् यहाँको रोग त्याँहा बेलायतमा नसार्ने कुरै छैन सारे छक्कै पारे । त्यसैले बेलायतमा बसोबास गर्ने राईहरुले मात्र होइन सन्सारभर फैलिएर बसोबास गर्ने राईहरुले नेपालको शाखा कार्यालय वा भगिनी संस्था, भातृसंस्था बनेर हुन्छ? त्याँहीको देशको वातावरण, कानुन, देश काल परिस्थिति अनुसारको विधान अनुसार चल्नु आवश्यक छ । नेपालको राई यायोख्खाको झण्डा र विधानमुनि बसेर त्याँहाको राईहरुको संस्कृति संरक्षण हुन्छ? नेपालको काठमाडौ जिल्ला कार्यालयमा दर्ता गरेर सञ्चालन गरेको संस्थागत विधानको मातहतमा रहेर सन्सारभर विभिन्न मुलुकमा बस्ने राईहरुले आफ्नो गतिविधि सञ्चालन गर्न मिल्छ?, सम्भव हुन्छ? त्यसैले आफू बसेको राष्ट्र, समाज र समुदाय अनुकूलको विधान, झण्डा र एजेण्डा बनाएर त्यसैको आधारमा आफ्नो जातीय उत्थानमा लाग्नुस् ।
अब कुरा गरौँ संस्कृतिको । संस्कृति भनेको हाम्रो जीवनपद्धति हो । संस्कृति, देश, काल, परिस्थिति र प्रकृति अनुसार निर्माण हुँदै र परिवर्तन हुँदै जान्छ । हिजो हामी ओल्लो किरात, माझ किरात र पल्लो किरात क्षेत्रमा छरिएर हजारौँ वर्षसम्म बसोबास गर्यौँ । त्यसैले हाम्रो खानपिन, वेशभूषा, रहनसहन आदि करिब करिब मिल्थ्यो । हाम्रा कथा, गाथाहरु, मिथक र मुन्दुमहरु मिल्थ्यो । तर अब त राईहरु संसारभर छरिएर बसोबास गर्न थालेका छौँ । यसरी अलग अलग भूगोल र प्रकृतिमा बस्ने हुनाले अबको केही दशक पछि नै हामी राईहरुको अलग अलग संस्कृतिको निर्माण हुन पुग्दछ । संस्कृतिको प्रमुख विशेषता नै परिवर्तन हो । संस्कृति समय अनुसार परिवर्तन हुँदै जान्छ । आजभन्दा २०० वर्ष अगाडिका हाम्रो पुर्खाले लाउने वेशभूषा र अहिलेको वेशभूषा फरक भएजस्तै अबको ५०० वर्षपछिको हाम्रो सन्तानको लवाइखवाई मात्र होइन सम्पूर्ण जीवनपद्धति फरक हुनु स्वाभाविक नै हो । हिजो पहाडी किरात क्षेत्रमा बाँचेका हाम्रा पुर्खाहरुले जेजे लाउथेँ, जेजे खान्थे, जेजे गर्थे आज बेलायतमा बस्ने राईहरुले, होङकोङमा बस्ने राईहरुले काठमाडौमा बस्ने राईहरुले त्यही र त्यसरी नै गर्न खोज्नु सम्भव छ? हाम्रो संस्कृति समय र परिस्थिति अनुसार परिवर्तन हुँदै जान्छ यसलाई रोक्न र छेक्न सकिन्न । त्यसैले हाम्रो संस्कृतिलाई आफ्नो अनुकूल बनाउदै लान पनि सक्नु पर्दछ । राईहरु ढुङग्री बुलाकी, फरियाचोली लाएरै, कछाड र खुकुरी भिरेर फुत्त सृष्टि भएका हुन् त ? अवश्य होइन । यी त कुनै कालखण्डको हाम्रो पुर्खाहरुले लाउने पहिरन थियो । अब के त्यही प्राचीन पहिरन हाम्रो संस्कृति भन्दै सबै पुस्तालाई थोपरेर हुन्छ? ती हाम्रा प्राचीन पहिरन, गरगहना अथवा ती प्राचीन जीवनशैली अबको पुस्ताको लागि रुचिकर तथा उपयुक्त छन् त? त्यसैले अबको पुस्ताले हाम्रो प्राचीन संस्कृतिहरुलाई संरक्षण गर्ने बाहनामा एउटा कुनै कालखण्डको संस्कृतिलाई मात्र काखी च्यापेर हिड्ने हो भने अन्तमा हामी संस्कृतिविहिन अर्थात रित्तो हुनेछौं । हो हामीले विभिन्न कालखण्डमा हाम्रा पुर्खाहरुले निर्माण र अवलम्बन गरेका संस्कृतिहरुको अध्ययन , अनुसन्धान र अभिलेखन गरेर सुरक्षा गर्नु पर्छ । हाम्रा प्राचीन संस्कृतिहरुलाई सिलसिलाबद्ध ढङगले अभिलेखीकरण गर्नु पर्दछ तर त्यही एउटै कुनै कालखण्डको सांस्कृतिक परम्परालाई नै हजारौं पुस्तालाई थुपार्ने प्रयास गरियो भने हामी, हामी रहन्नौँ, किनभने ती प्राचीन परम्पराहरुलाई वर्तमान पुस्ताले रुचाउन सम्भव छैन । त्यसैले अब हामीले हाम्रो अनुकूल, हाम्रो नयाँ पुस्ताको अनुकूल र हामी बसोबास गरेको देश,प्रकृति र भूगोल अनुसार हाम्रो संस्कृतिहरुलाई रुपान्तरण गर्दै लान आवश्यक छ ।
त्यसैले बेलायतमा बस्ने राईहरुले पनि अब नेपालमा खोलिएको संस्था, सरकार, पार्टी र समुदायको आधार र नियन्त्रणमा रहेर होइन त्याँहीको हावापानी, कानुन, समाज र समुदाय अनुसारको संस्था र गतिविधि सञ्चालन गर्न आवश्यक छ । यसको अर्थ हाम्रो प्राचीन अमूल्य परम्परा, मूल्य र मान्यताहरुलाई हटाउनु पर्छ भनेकै होइन । कुरो के हो भने हाम्रो प्राचीन संस्कृतिहरुको चुरो अर्थात् प्राणभुत तत्त्वलाई बचाएर त्यही प्रकृतवादी दर्शन र सभ्यताको आधारमा समय, परिस्थिति र आफूबसेको राष्ट्र अनुसारको विधि,पद्धति र सामग्रीको प्रयोग गर्न अवश्यक छ । स्मरण रहोस संस्कृतिलाई पानी जस्तै स्वतन्त्र ढङगले बग्न दिनु पर्दछ यसलाई रोक्न र छेक्न खोजियो भने यो जमेको पानीजस्तो फोहोर हुनसक्छ । संस्कृतिले हामीलाई बनाएको होइन हामीले हाम्रै लागि संस्कृतिको निर्माण गरेका हौँ त्यसैले संस्कृति हाम्रो अनुकूल बनाउदै लानु पर्दछ अरु यसको विकल्प पनि छैन । मेरो आग्रह छ संस्कृति संरक्षणको नाममा अन्य कुनै पनि गतिविधि नगरौँ । आफ्नो समाधान आफै गरौँ अरुको साहरा लिन खोज्दा निकै महङ्गो ज्याला लिन सक्छ जस्ले गर्दा अन्तमा दुबै पक्षलाई रित्तो बनाउन सक्छ । हामी एउटै नश्ल, वंश र कुलका हौँ त्यसैले सानोतिनो कुरामा वास्ता नगरौं बाँकी अरु भेटमा आज यति नै अब ढुक्क लिसा ।

अन्य पोष्टहरु

अवरुद्ध घोडेटार-चुवार सडकखण्ड भोलि मात्रै खुल्ने

अवरुद्ध घोडेटार-चुवार सडकखण्ड भोलि मात्रै खुल्ने

शेयर गर्नुहोस–अर्जुन राई अपहेलित  हसनपुर । भोजपुर जिल्लाको घोडेटार-चुवार सडकखण्ड भोलि बिहान मात्रै खुल्ने भएको छ…
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प , भोजपुरमा एक घर भत्कियो

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प , भोजपुरमा एक घर भत्कियो

शेयर गर्नुहोस भोजपुर । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन…
भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रीन

भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रीन

शेयर गर्नुहोस इनागरिक । भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रीन सर्वसम्मत चयन भएका छन् ।…