विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाइयो
- राजनीति
- October 15, 2025

काठमाडौं, असोज २९ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। पार्टीका १४औं महाधिवेशनका ५३ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ।
सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेता गुरुराज घिमिरेसहितका नेताहरूले विशेष महाधिवेशन बोलाउनुपर्ने मागसहित हस्ताक्षर बुझाएका हुन्। सभापति शेरबहादुर देउवाले मंगलबार मात्र खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए। त्यसको भोलिपल्टै विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइनु राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।
नेता गुरुराज घिमिरेले भने, “बलियो र सबल कांग्रेस निर्माण हाम्रो साझा चिन्ता हो। अग्रज नेताहरूको स्मरण गर्दै ऐतिहासिक कदमका रूपमा विशेष महाधिवेशनको माग अघि सारेका छौं। अहिले नीति र नेतृत्व तय गर्ने समय आएको छ।” उनका अनुसार, यो पहल पार्टीभित्र वैधानिक बाटोबाट एकता र सुदृढीकरणतर्फको प्रयास हो। “हामी द्वन्द्व वा विग्रह होइन, वैधानिक मार्गबाट अघि बढ्दैछौं। विधानभित्र रहँदै विशेष महाधिवेशन गर्ने यो अभियानले कांग्रेसलाई नैतिक बल प्रदान गर्नेछ,” घिमिरेले थपे।
उनीका अनुसार, विशेष महाधिवेशनका लागि देशभरका महाधिवेशन प्रतिनिधिहरूको भावना र अधिकारको प्रतिनिधित्व गर्दै यो मागपत्र कार्यवाहक सभापतिलाई बुझाइएको हो। राजनीतिक विश्लेषकहरूका अनुसार, सभापति देउवाले कार्यभार हस्तान्तरण गरेको भोलिपल्टै यस्तो माग आउनु पार्टीभित्र नेतृत्व परिवर्तन र नीतिगत पुनर्संरचनाको संकेत हो।