‘किरात प्रदेश’ नामकरणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र, प्रदेशसभा घेराउ
- समाचार
- July 18, 2022

विराटनगर । किरात राई यायोख्खाले १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न माग गर्दै बृहत् मोटरसाइकल र्याली प्रदर्शन गरेको छ ।
सोमबार प्रदेश १ का १४ वटै जिल्लाबाट भेला भएका किरात राई यायोक्खाका प्रतिनिधिहरुले किरात प्रदेश घोषणा गर्न माग गर्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले आफू पहिचानको पक्षमा रहेको बारे उल्लेख गर्दै आएको बताए । ‘चुनावको समयमा विभिन्न राजनैतिक दलहरुले बहुपहिचानको मुद्दालाई उठान गरेको तर अहिले दिने बेलामा टाढा हुन खोज्नु धोका हो’, उनले भने ‘प्रदेश सभामा केही दल पहिचानको पक्षमा रहेपनी बहुमतको निर्णयले नामकरण गर्नु पर्ने हुँदा तत्काल त्यो अवस्था नरहेकाले ढिलाइ भएको हो ।’ मुख्यमन्त्री राईले आफू पहिचानको पक्षमा अन्तिम समय सम्म संघर्ष गर्ने विश्वास व्यक्त गर्दै अन्य दलका सांसदलाई पहिचानको पक्षमा जुटाउन अनुरोध गरेका छन् । 
१ नम्बर प्रदेशको नामकरण पहिचान, भुगोल र सभ्यताको आधारमा राख्न माग गर्दै दबाबमुलक कार्यक्रमहरू आयोजना भइरहेको बेला किरायाको आयोजनामा वृहत् मोटरसाइकल र्यालीका साथमा मुख्यमन्त्री कार्यलय र प्रदेश सभाको कार्यलय घेराउ तथा कोणसभा गरिएको हो ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण पछिको कोण सभालाई सम्बोधन गर्दै किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष दिवस राईले १ नम्बर प्रदेशको माटोको नाम, परिचय नामेट गरेर अर्को कुनै अमुक नाम राख्ने अधिकार कुनै अर्को व्यक्तिलाई नभएको बताए ।
प्रदेश सांसदहरूले सर्वसम्मत रुपमा किरात प्रदेश नामाकरण गर्न माग गर्दै यायोक्खा अध्यक्ष राईले किरात प्रदेश नामाकरणको लागि दुई तिहाइ नखोज्न आग्रह गरेका छन् ।
किरात राई यायोख्खा अन्तर्गतका भातृ संगठन, भाषिक संगठन साथै सुनुवार सेवा समाजको समेत सहभागिता रहेको थियो । उक्त र्यालीमा किरात खम्बुवान साझा पार्टीको समेत एक्यवद्धता रहेको थियो ।
‘किरात प्रदेशको सांस्कृतिक पहिचान हो’, ‘१ नम्बर प्रदेश किरात प्रदेश नामाङ्कन गर’, ‘किरात सभ्यता हो’ लगायतको प्लेकार्ड सहितको प्रदर्शनमा किरात राई विद्यार्थी संघ सहितको टोलीले घण्टौं समय सम्म “सोइ ढोले सोई, किरात प्रदेश खोई” भन्दै नारा लगाएका थिए । र्याली प्रदर्शनका तस्वीरहरु







तस्वीर: अर्जुन राई