मतदाता नामावलीमा नाम भएको तर परिचयपत्र हराएकाले पनि भोट हाल्न पाउने
- समाचार
- May 11, 2022
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएकाहरूलाई मतदाता परिचयपत्र दिने भएको छ।
आयोगले मंगलबार पत्रकार सम्मेलन गरी वैशाख २९ गतेसम्म १८ वर्ष पुगिसकेका व्यक्तिहरूको मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूले पनि मतदान गर्न पाउने बताएको हो।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता नामावलीमा नाम भएको तर परिचयपत्र हराएकाहरूले पनि नागरिकताको आधारमा मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि मतदाता नामावलीमा भएका व्यक्तिहरूले मतदान गर्न पाउने भएको बताए।
मतदानका लागि निर्वाचन आयोगले देशैभरि दश हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकि सकेको छ । अहिलेको व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदात केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ । आयोगले मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाउँदै आएको छ ।
स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ । मतदान गर्न मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ । तर मतदाता परिचयपत्र हराएमा वा नभएमा नागरिकताको आधारमा मतदान गर्न पाइने आयोगले जनाएको हो ।