भोजपुरको षडानन्दमा आगलागी: एक बालिकाको मृत्यु, चार घरका होटल पसल जल्यो
- समाचार
- May 5, 2022
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बिहीबारे बजारमा भिषण आगालागी भएको छ ।
बिहीबार साँझ खेममणी तामाङको पसलबाट सुरु भएको आगलागीबाट एक बालिकाको ज्यान गएको हो ।
घरमा सुतिरहेकै समयमा आगलागी हुँदा करिब अढाई वर्षीय रेश्मा तामाङको ज्यान गएको हो । स्थानीय झंक बहादुर रोकाका अनुसार मृतक बालिकाको बुबा २८ वर्षीय खेममणी तामाङ र आमा २३ वर्षीय मीना तामाङ गम्भीर घाईते भएका छन् ।
आगलागीबाट गम्भीर घाईते उनीहरुलाई धारान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्ष राजकुमार राईले बताए ।
खेममणी तामाङको पसलबाट सुरु भएको आगोले आफ्नैे घर र पसल, डम्बर तामाङको २ वटा घर तथा सोहि घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको एक घर तथा होटल र सोहि घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष्ट भएको छ । घटना स्थलमा प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । घटनाबाट क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।