पौवादुङमा गाउँपालिका र कर्मचारी सञ्चय कोषबीच पहिलो ऐतिहासिक सम्झौता
- Uncategorized
- August 1, 2025
भोजपुर, साउन १६ । पौवादुङमा गाउँपालिका र कर्मचारी सञ्चय कोषबीच उपदान, घर बिदा र बिरामी बिदाकाे रकम व्यवस्थापन गर्न सम्झौता सम्पन्न भएको छ। ७५३ स्थानीय तहहरूमध्ये यस्तो सम्झौता गर्ने पौवादुङमा पहिलो पालिका बनेको हो।
गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत र कोषको तर्फबाट मुख्य प्रबन्धक श्री वीरेन्द्र पौडेल र प्रबन्धक रबीन के.सी.ले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता सार्वजनिक निकायका कर्मचारीको निवृत्तभरण तथा उपदान कोष सञ्चालन विनियमावली, २०८१ बमोजिम भएको हो।
अबसम्म ब्याज नआएको कर्मचारी कल्याण कोषबाट अब ६देखि ८.५% सम्मको वार्षिक आम्दानी प्राप्त हुने छ। साथै, सेवा समाप्त भएका कर्मचारीले गाउँपालिकाको मौज्दात रकम खर्च नगरी कोषबाटै उपदान र बिदाको रकम पाउनेछन्।
यस सम्झौताले अन्य स्थानीय तहलाई पनि कर्मचारी सञ्चय कोषसँग आवद्ध हुने बाटो खोलिदिएको छ। कोषले अब सफ्टवेयरमा पौवादुङमा गाउँपालिका समावेश गरी रकम भुक्तानी प्रक्रिया अघि बढाउनेछ।
सम्झौताका लागि ऐन निर्माण गरी मार्ग प्रशस्त गरिदिने पालिका अध्यक्ष किरण राई, उपाध्यक्ष ज्योत्स्ना राई, वडाध्यक्ष तथा सदस्यहरूलाई गाउँपालिकाको तर्फबाट विशेष आभार व्यक्त गरिएको छ।