कांग्रेसबाट हतुवागढी ८ अध्यक्षमा प्रेम बहादुर थापाको उम्मेदवारी
- स्थानिय तह
- April 27, 2022
पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ८ को अध्यक्षमा प्रेम बहादुर थापाले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस हतुवागढी -८ का वडा सभापति समेत रहेका थापाले वडाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
त्यस्तै महिला सदस्यमा मणिकला राई, दलित महिला सदस्यमा पम्फा विक, खुल्ला सदस्यमा थाम बहादुर राई र रामु राईले उम्मेदवारी दिएका छन् ।
वडाअध्यक्ष पदका उम्मेदवार थापा विगत ७ वर्ष देखि पात्लेपानीमा प्रेम भेराइटी पसल सञ्चालन गर्दै आएका छन् ।
नेकपा एमालेमा आवद्ध थापा ५ वर्ष यता नेपाली कांग्रेसमा सक्रिय छन् । थापा गत भदौ १८ गते हतुवागढी-८ मा सम्पन्न पार्टीको १४ औं वडा अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
हतुवागढी ८ मा नेकपा एमालेको तर्फबाट सैनबहादुर बिष्ट र नेकपा माओवादीबाट सुदन राईले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
माओवादी उम्मेदवार सुदन राई अघिल्लो निर्वाचनमा निर्वाचित वडा सदस्य हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा हतुवागढी-८ को मतपरिणाम:
२०७४ सालको स्थानीय निर्वाचनमा हतुवागढी ८ मा माओवादी, कांग्रेस र एमाले गरि तीन दलले उम्मेदवारी दर्ता गराएका थिए ।
उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रविन कुमार राईले २५५ मत ल्याएर हतुवागढी -८ को वडाध्यक्षमा विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्र थापाले १८६ र नेकपा एमालेका सैन बहादुर विष्टले १०३ मत ल्याए ।
त्यस्तै महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी सीता कुमारी राईले २४६ मत प्राप्त गरि विजयी भएका थिए भने नेपाली कांग्रेसकी कमला माया राईले १७७ र नेकपा एमालेकी उम्मेदवार सुपन राईले ११६ मत प्राप्त गरिन् ।
दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार तारा दर्जीले २५० मत प्राप्त गरि विजयी भइन् भने नेपाली कांग्रेसकी विष्णु कामीले १८२ र नेकपा एमालेकी इन्द्र कुमारी दर्जीले १०८ मत प्राप्त गरिन् ।
त्यसै गरि खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका सुदन राईले २४० र विश्वजित चाम्लिङले २४६ मत प्राप्त गरि विजयी भएका हुन् । नेपाली कांग्रेसका भविन्द्र राईले २०३ र अम्बर बहादुर तामाङले १७३ मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका गोविन्द बहादुर कार्कीले ९३ र आस राम राईले १०७ मत प्राप्त गरेका थिए ।
गत स्थानीय निर्वाचन मतपरिणाम हेर्दा हतुवागढी ८ मा माओवादी केन्द्र बलियो देखिए पनि कांग्रेसबाट व्यवसायी प्रेम थापाको उम्मेदवार घोषणालाई चासोमा रुपमा हेरिएको पाइन्छ ।