माओवादी केन्द्रीय सदस्यहरूको चिन्ता- प्रचण्डपछि पार्टी सकिने त होइन!
- राजनीतिसमाचार
- March 7, 2022
माओवादी केन्द्रले काठमाडौंको पुरानो बानेश्वरस्थित एक ब्याङ्क्वेटमा आइतबार ११ बजे केन्द्रीय कमिटी बैठक डाकेको थियो। केन्द्रीय सदस्यहरूले त्यहाँ पुगेपछि मात्र बैठक २ बजेलाई सरेको थाहा पाए।
यता केन्द्रीय सदस्यहरू बैठक सुरू हुने समय कुर्दै थिए, उता त्यही बेला बैठकमा सहमति गरेर आउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यहरू छलफलमा व्यस्त थिए।
आखिरमा साढे १२ बजेतिर सोमबार बस्ने गरी बैठक स्थगित गरिएको सूचना सार्वजनिक भयो।
पार्टीमा सहमति नभएको र प्रतिनिधिसभा बैठकको समेत बहाना देखाएर केन्द्रीय कमिटी बैठक स्थगित गरिएको थियो। यसबारे केन्द्रीय सदस्यहरूलाई औपचारिक जानकारी दिइएको थिएन। बैठक सरेको अपुष्ट सूचना पाएपछि एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय सदस्यका लागि भनेर खाजा तयार पारिएको छ। अब खाजा खाइसकेपछि मात्रै बैठक सरेको खबर आउने होला।’
सुदूरपश्चिमदेखि काठमाडौं आएकी एक केन्द्रीय सदस्यलाई यसपटक पनि पार्टीको कमिटीले पूर्णता नपाउने हो कि भन्ने चिन्ता छ। उनलाई यो बैठकमा आफ्नो मन पखालिने गरी बोल्न मन लागेको छ। पार्टीलाई विधि र पद्धतिअनुसार चलाउने हो भने कमिटीहरूले पूर्णता पाउनुपर्छ भनेर नेतृत्वसामु भन्न मन लागेको छ। तर बैठकमा बोल्ने वातावरण समेत बन्ने हो कि होइन उनलाई थाहा छैन।
माओवादीले यो बैठकमा पार्टी संगठन, केन्द्रीय सदस्य चयन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने जनाएको थियो। प्रतिनिधिसभाबाट हालै पारित अमेरिकी परियोजना एमसिसीलाई पार्टीबाट अनुमोदन गराउने पनि प्रचण्डको तयारी छ। यिनै विषयमा छलफल गर्न प्रचण्डले पूर्वस्थायी कमिटी बैठक बोलाएका हुन्।
पूर्वस्थायी कमिटी बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्य चयन र एमसिसी अनुमोदनमा सहमति जुटिसकेको छ। पदाधिकारी चयनको विषय भने टुंगिएको छैन।
‘सोमबारको बैठकले केन्द्रीय सदस्यहरू चयन गर्छ। एमसिसी अनुमोदन पनि गर्छ,’ ती नेताले भने, ‘तर पदाधिकारी टुंगो लागेको छैन। आजको बैठकमा यसबारे छलफलसमेत भएन। त्यसैले यो केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन नगर्ने लगभग पक्का भइसकेको छ।’
बैठकमा सहभागी अर्का एक नेताका अनुसार प्रचण्डले अब चुनावमा होमिनुपर्ने भएकाले पदाधिकारी चयनलाई लिएर विवाद निम्त्याउन नहुने बताएका छन्।
माओवादी केन्द्रले १९ जना पदाधिकारी रहने प्रस्ताव गरेको थियो। पुस ११ देखि १८ सम्म चलेको आठौं महाधिवेशनले उक्त प्रस्ताव खारेज गर्यो र पदाधिकारी चयनको जिम्मेवारी पूर्ण रूपमा केन्द्रीय कमिटीलाई दियो। अब विधानअनुसार भन्दा पनि माओवादी केन्द्रीय कमिटीले चाहेअनुसार पदाधिकारी चयन हुनेछ।
अहिले माओवादी केन्द्रमा प्रचण्ड एकल अध्यक्ष छन्। अरू सबै केन्द्रीय सदस्य मात्रै हुन्। महाधिवेशन सकिएको भोलिपल्ट पुस १९ गते प्रचण्ड अध्यक्ष चयन भए पनि अरू पदाधिकारी चयन भएका छैनन्। कुन पदमा कति जना रहन्छन् भन्ने पनि माओवादीले टुंगो लगाउन सकेको छैन।
खुमलटारमा माओवादी शीर्ष नेताहरूको बैठक बसिरहेकै बेला बत्तिसपुतली पुगेका एक केन्द्रीय सदस्यले यसपटक पनि पदाधिकारी चयन हुनेमा आफू विश्वस्त नरहेको बताए।
‘अध्यक्षले यो पार्टीलाई सही दिशामा हिँडाउने छाँट देखिएको छैन। उहाँले आन्दोलनको नेतृत्व त गर्नुभयो तर पार्टीलाई नेतृत्व दिन सक्नुभएको छैन,’ ती केन्द्रीय सदस्यले भने, ‘पार्टी अध्यक्षले एउटा निर्णय गर्नुपर्छ। उहाँले सबैलाई खुसी पार्न खोज्दा पदाधिकारी चयन हुन सकेको छैन। यो निर्णय क्षमताको अभाव हो। यही अवस्था हो भने उहाँपछि यो पार्टी नरहन पनि सक्छ।’
भ्रातृ संगठनको समेत पदाधिकारी चयन गर्न नसक्ने अध्यक्षले पार्टी पदाधिकारी चयन गर्न झन् कठिन हुने ती केन्द्रीय सदस्यको भनाइ छ।
माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिगमा छ महिनादेखि संयोजक र सहसंयोजक मात्र छन्। पाँच महिनादेखि अर्को भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीमा अध्यक्ष र केन्द्रीय सदस्य मात्रै छन्।
पार्टी बैठकका लागि काठमाडौं आउने, जाने र बस्ने गर्दा केन्द्रीय सदस्य भएयता दुई लाखभन्दा धेरै खर्च भइसकेको एक केन्द्रीय सदस्यले गुनासो गरे।