सुनसरीका राई पत्रकारहरुद्वारा जनप्रतिनिधिलाई वाबुप र बुङ उपहार
- समाचार
- January 21, 2023
माघ ६, इटहरी । किरात राई पत्रकार संघ सुनसरीले राई समुदायका जनप्रतिनिधिहरुलाई वाबुप (चिण्डो) र बुङ (फूल) उपहार प्रदान गरेको छ ।
येले दोङ (किरात नयाँ वर्ष) ५०८३ को अवसरमा शुक्रबार धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ सहित वडाध्यक्षहरुलाई उक्त वाबुप र बुङ (धजुरी,पेचुरी) प्रदान गरिएको हो ।
धजुरा, पेचुरी ग्रहण गर्दै धरानका मेयर साम्पाङले विविध मौलिकतामा राष्ट्रियता रहेको र मौलिकता संरक्षण भए मात्रै राष्ट्रिय एकता रहने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धजुरा, पेचुरी प्रदान अभियानले मौलिकताबारे आउने पुस्तामा उत्सुकता जागरण हुने तथा मौलिक पहिचानको मुद्दालाई थप टेवा पुग्ने बताए ।
किरात राई पत्रकार संघ सुनसरी अध्यक्ष बसन्त राईले धजुरा, पेचुरीको महत्व दर्शाउदै हरेक शुभ कार्यमा त्यसलाई उपयोग गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
उनले संस्कार संस्कृति संरक्षण र सांस्कृतिक बिम्बहरुको प्रचारको मुख्य उद्देश्य सहित जिल्ला भरिका राई समुदायबाट निर्वाचित जनप्रतिनिधिहरु सँग शुभकामना साट्दै धजुरी, पेचुरी प्रदानको अभियान आरम्भ गरेको बताए ।