‘प्रथम छिन्ताङ देवी कप’ खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी हतुवागढीले जित्यो
- खेलकुद
- September 11, 2022

२६ भाद्र, घोडेटार । ‘प्रथम छिन्ताङ देवी कप’ विभागीय टिम सहितको खुल्ला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधी हतुवागढीले जितेको छ ।
किरातहरुको पर्व उधौली तथा भदौरे पूर्णिमाको अवसरमा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा हतुवागढी भलिबल टिमले आमचोक भलिबल टिमलाई ३-१ को सेटमा हराउँदै उपाधी विजेता बनेको हो ।
धनकुटा जिल्लाको सहिदभुमी गाउँपालिका -३ स्थित छिन्ताङ जाल्पा देवी मन्दिर परिसरमा आयोजित खुल्ला अन्तर पालिका पुरुष भलिबल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको थियो । भाद्र २३ गते बिहीबार देखि जारी प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल प्रहरी प्रदेश नं. १ तालिम केन्द्र (रानी) भलिबल टिमलाई ३-१ को सेटमा हराउँदै हतुवागढी भलिबल टिम फाइनल प्रवेश गरेको हो ।
भोजपुरकै दुई पालिकाबीच शनिबार सम्पन्न फाइनल खेलमा उपाधी विजेता हतुवागढी भलिबल टिमले नगद १ लाख र उपविजेता आमचोक भलिबल टिमले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
खेलमा प्रथम हुन सफल भोजपुरको हतुवागढी भलिबल टिमबाट महेश घिमिरेको नेतृत्वमा अनिश राई, राजकुमार तामाङ लगायत ९ जना खेलाडीको उपस्थिति रहेको थियो ।