हतुवागढीका ६ वटा वडाको मतगणना सकिँदा प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनको अग्रता
- स्थानिय तह
- May 15, 2022

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गतका ६ वटा वडाको मतगणना सम्पन्न भएको छ ।
आइतबार (आज) दिउँसो १ बजे सम्म हतुवागढी गाउँपालिका १, २, ३, ७, ८ र ९ नम्बर वडाको मत गणना सम्पन्न भएको हो ।
मतगणना सम्पन्न वडा मध्ये वडानम्बर १ मा एमाले उम्मेदवार कुमार बिष्ट, २ नम्बर वडामा एमाले उम्मेदवार बिचारी थापा, वडा नम्बर ३ मा एमाले उम्मेदवार राजकुमार राई, ९ नम्बर वडामा एमाले उम्मेदवार सन्जल राई, वडा नम्बर ७ मा नेपाली कांग्रेसका जंगराज राई र ८ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार प्रेमबहादुर थापा वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
हालसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले वडा नम्बर ७ र ८ मा प्यानलै विजयी भएको छ भने वडा नम्बर १ को महिला सदस्यमा विजयी भएको छ । त्यस्तै नेकपा एमालेबाट वडा नम्बर २, ३ र ९ मा प्यानलै विजयी भएका छन् । वडा नम्बर १ मा भने महिला वडा सदस्य बाहेक वडाध्यक्ष सहितका सदस्य पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
हाल वडा नम्बर ६ र वडा नम्बर ४ को मत गणना भइ रहेको छ ।
६ वडाको गणना सकिँदा पालिका प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनको अग्रता
६ वटाको मतगणना सम्पन्न हुँदा पालिका प्रमुखमा एमालेका उम्मेदवार प्रेमकुमार राई र उपप्रमुखमा गठबन्धनको उम्मेदवार सुनिता किरातीको अग्रता कायम रहेको छ ।
हाल सम्म ६ वडाकोको मतगणना सकिँदा पालिका प्रमुखमा एमाले उम्मेदवार राईको २३५२ र गठबन्धनका उम्मेदवार गजेन्द्र बहादुर कार्कीको २१५८ मत रहेको छ । त्यस्तै उप प्रमुखमा एमाले उम्मेदवार कमला राईको २०६४ र गठबन्धन उम्मेदवार किरातीको २३८६ मत रहेको छ ।
प्राप्त मतका अनुसार प्रमुखमा एमालेको १९४ र उपप्रमुखमा गठबन्धनको ३२२ मतान्तरले अग्रता कायम रहेको छ ।