विमानस्थलमा यसरी हुन्थ्यो भिजिट भिसाको सेटिङ, ३ महिनाअघि नै हेलो सरकारमा परेको थियो उजुरी
- Uncategorized
- May 23, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूले घुस लिएर भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान थालेको छ ।
विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग अख्तियारले सोधपुछ गरिरहेको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले उक्त विषयमा विस्तृत अनुसन्धान भइरहेको बताए । अख्तियारको टोलीले बुधबार भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।
भट्टराईको मोबाइलसहित केही डिभाइस समेत जफत गरी बुधबार राति छाडिएको थियो । अख्तियारमा बिहिबार १० बजे आफैं उपस्थित हुने गरी छाडिएका भट्टराई बिहीबार बिहान १० बजे नै बयानका लागि अख्तियार पुगेका थिए ।
यस विषयमा २०८१ फागुन २३ गते हेलो सरकारमा उजुरी परेको थियो । विभिन्न एयरलाइन्स, ट्राभल एजेन्सी र अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा प्रतिव्यक्ति ४० देखि ५० हजार रूपैयाँसम्म असुलउपर गर्ने गरिएको भन्दै छानबिन गर्न उजुरीमा माग गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा दुबई जाने मात्र दैनिक २५० जनाभन्दा बढी हुने गरेको उजुरीमा उल्लेख छ । कुवेत एयरवेज र जजिरा एयरवेजमार्फत मानव तस्करी हुने गरेको उजुरीमा आरोप लगाइएको छ ।
मापदण्डविपरीत दुईतर्फी टिकट हुनुपर्नेमा फर्किने नक्कली टिकट बनाइदिने, होटल बूकिङको कागजात पनि फेक बनाइदिने गरी एयरलाइन्स, ट्राभल एजेन्सी र अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा सेटिङ गरी मानव तस्करी हुने गरेको उजुरीमा दाबी गरिएको छ ।
भिजिट भिसामा पठाउने गरिएका ती नेपालीलाई खाडी मुलुकमा घरेलु कामदारको रूपमा प्रयोग गर्ने गरिएको उजुरीमा उल्लेख छ ।