हतुवागढीका अतिविपन्न १०६ परिवारलाई जस्ताको छानो वितरण
- समाचार
- July 16, 2023
घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले अति विपन्न परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ ।
गाउँपालिकाले आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरि १०६ परिवारलाई फुसको छानो हटाइ जस्तापाताको छानो फेरिदिएको हो ।
गाउँपालिकाको आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागु गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरिएको बताइएको छ ।
गाउँपालिकाले वडा नं. १ र २ का आठ/आठ घर, वडा नं. ३ मा पाँच घर, वडा नं. ४ मा १२ घर, वडा नं ५ मा आठ घर, वडा नं. ६ मा नौ घर, वडा नं. ७ मा छ घरलाई जस्ताको छानो वितरण गरेको हो । त्यस्तै वडा नं. ८ मा पाँच घर र वडा नं. ९ मा आठ घरलाई फुसको छानो हटाएर जस्तापाताको छानो वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत दिने लक्ष्यले प्रतिपरिवार परिवारलाई रु ७५ हजार बराबरको जस्ताको छानो सहयोग गरिएको हो ।