किरात राई पत्रकार संघको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा अवतार राई सर्वसम्मत निर्वाचित
- समाचार
- September 18, 2022
२ असोज, काठमाडौं । किरात राई पत्रकार संघको केन्द्रीय अध्यक्षमा अवतार राई निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न संघको पाँचौ केन्द्रीय अधिवेशनबाट भोजपुरका राई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
काठमाण्डौको कोटेश्वर स्थित किरात राई यायोक्खा तथा सुम्निमा हलमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा इलामबाट रिता राराहाङ राई, उपाध्यक्षमा सुनसरीबाट विशाल राई, महासचिबमा कृष्णजित राई, सचिवमा गोबिन्द राई, पाँचथरका राजकुमार राई, खोटाङका गोमा राई, उदयपुरका बुद्दि चाम्लिङ राई र कोषाध्यक्षमा उपत्यकाबाट नुनुता राई निर्वाचित भएका छन् ।
उक्त अधिवेशन कार्यक्रम किरात राई यायोक्खाका केन्द्रीय महासचिव जनक राईको प्रमुख आतिथ्यतामा पाँच वटा पानसमा दीप प्रजलन गरेर उद्घाटन गरिएको थियो ।
कार्यक्रममा पूर्व सांसद सुदन किराती, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का महासचिव मिलन लिम्बु, किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष गणेश वाम्बुले राई, संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष पदम वालाहाङ लगायत जिल्लागत प्रतिनिधि पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको बन्दसत्रमा अधिवेशन आयोजक समिती संयोजक अवतार राईले सांगठनिक प्रतिवेदन र आर्थिक संयोजक नुनुता राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।