हतुवागढी ८ मा तीन दलबीच प्रतिस्पर्धा, यस्तो छ २०७४ को मतपरिणाम

शेयर गर्नुहोस

–अर्जुन राई अपहेलित

पात्लेपानी । स्थानीय निर्वाचन नजिकिए सँगै राजनैतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र रुपमा अघि बढाएका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिकाका विभिन्न वडामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र मंगोल अर्गनाइजेशन साथै स्वतन्त्र उम्मेदवारहरुले सहभागिता जनाएका छन् ।

गत निर्वाचनमा माओवादी केन्द्रको प्यानलै विजयी भएको वडा नम्बर ८ कडा चुनावी प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । वडाध्यक्ष पदमा नेकपा एमालेबाट सैन बहादुर विष्ट, नेपाली कांग्रेसबाट प्रेम बहादुर थापा र नेकपा माओवादीबाट सुदन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदका उम्मेदवार सुदन राई गत निर्वाचनमा खुल्ला वडा सदस्य पदमा निर्वाचित वडा सदस्य हुन् । उनी पछिल्लो समय साहित्यिक कार्यक्रम, खेलकुद, देउसीभैलोका सांगितिक कार्यक्रमहरुको अग्रपंक्तिमा देखिने गरेका छन् ।
कुनैपनि संघ संस्थाको जिम्मेवार पदमा नरहेता पनि उनले अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका हुन्छन् ।

शिक्षा शास्त्र संकायमा उच्च शिक्षा हासिल गरेका ३५ वर्षीय राई २०६४ साल यता राजनीतिमा सक्रिय छन् । नेकपा माओवादी केन्द्रको वडा कमिटि सदस्य हुँदै राजनैतिक यात्रा प्रारम्भ गरेका उनी हाल पार्टीको प्रदेश विभाग सदस्यको जिम्मेवारीमा रहेका छन् । अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधि भएको कारण पनि उनी स्थानीय माझ निकै घुलमिल भएका छन् ।

उक्त वडामा नेपाली कांग्रेसको तर्फबाट प्रेम बहादुर थापाले उम्मेदवारी दिएका छन् ।

४४ वर्षीय थापाले माध्यमिक तह सम्मको शिक्षा हासिल गरे । वैदेशिक रोजगारीको क्रममा विगत ५ वर्षको अनुभव बटुलेका उनी पछिल्लो समय सामाजिक काममा समेत सक्रीय रहेका छन् ।

२०५२ सालमा नेकपा एमाले १२ नम्बर इलाका कमिटीको उपाध्यक्ष पदमा ५ वर्ष काम गरिसकेका थापा एमाले परित्याग गरि ५ वर्ष यता नेपाली कांग्रेसको सक्रीय राजनीतिमा छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा चयन भएका उनले हतुवागढी–८ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।

हतुवागढी–८ स्थित जनज्योति माविमा सरस्वती मन्दिर निर्माणमा अग्रपङ्तीमा रहेर योगदान पुर्याएका थापाले विद्यालयमा १ लाख २१ हजार १२१ नगद राशीको रामबहादुर र राधा थापा अक्षयकोष स्थापना गरेका छन् ।

पात्लेपानी स्थित २०५२ साल देखि किराना पसल सुरु गरेका थापाले २०७२ देखि प्रेम भेराइटी पसल, पात्लेपानी सप्लायर्स सञ्चालन गर्दै आएका छन् । सिफा बहुउद्देश्यीय संस्थामा शेयर सदस्य रहेका उनी विगत १५ वर्ष देखि नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य रहेका छन् ।

त्यस्तै २०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित गाविस उपाध्यक्ष सैन बहादुर बिष्टले पात्लेपानी गाविसमा कार्यवाहक अध्यक्षको रुपमा ५ वर्ष काम गरे । उनले २०४८ सालमा नेकपा एमाले गाउँकमिटी सदस्य भएसँगै राजनैतिक यात्रा प्रारम्भ गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा वडाध्यक्ष पदमा पराजित बिष्टले पुनः हतुवागढी–८ को वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् । तत्कालिन समयमा नेकपा एमाले १२ नम्बर इलाका कमिटी सदस्यमा रहेर दुई कार्यकाल काम गरेका उनी हाल नेकपा एमाले जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

विभिन्न सामाजिक संघ संस्था तथा योजनाहरुमा रहेर काम गरेका ६१ वर्षीय बिष्टले तत्कालिन समयमा प्राथमिक तह सम्मको अध्ययन गरे । जनज्योति माध्यमिक विध्यालय व्यस्थापन समिती स्थापना कालमा समिती सदस्य रहेका उनले २०६४ मा जनज्योति मावि शिक्षिक अभिभावक संघको अध्यक्षमा रहेर काम गरे ।

हाल पात्लेपानी स्वास्थ चौकी सहयोग समिती उपाध्यक्ष रहेका बिष्ट सिफा बहुद्देधिय सहकारीमा व्यवस्थापन समिती सदस्य रहेका छन् । जिल्ला विकास समितीद्वारा सञ्चालित गाउँ विकास कार्यक्रम व्यवस्थापन समिती अध्यक्षको जिम्मेवारीमा रहेका उनी हाल टाकुरे कपुलेती वन उपभोक्ता समिती अध्यक्ष, मानेढुङ्गा सामुदायिक वन उपभोक्ता समिती कोषाध्यक्ष, कृषि कार्यक्रम सदस्य, गाविस टोल विकास समिती अध्यक्षको जिम्मेवारी सम्हालि रहेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा हतुवागढी-८ को मतपरिणाम:

२०७४ सालको स्थानीय निर्वाचनमा हतुवागढी ८ मा माओवादी, कांग्रेस र एमाले गरि तीन दलले उम्मेदवारी दर्ता गराएका थिए ।

उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रविन कुमार राईले २५५ मत ल्याएर हतुवागढी -८ को वडाध्यक्षमा विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्र थापाले १८६ र नेकपा एमालेका सैन बहादुर विष्टले १०३ मत ल्याए ।

त्यस्तै महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी सीता कुमारी राईले २४६ मत प्राप्त गरि विजयी भएका थिए भने नेपाली कांग्रेसकी कमला माया राईले १७७ र नेकपा एमालेकी उम्मेदवार सुपन राईले ११६ मत प्राप्त गरिन् ।

दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार तारा दर्जीले २५० मत प्राप्त गरि विजयी भइन् भने नेपाली कांग्रेसकी विष्णु कामीले १८२ र नेकपा एमालेकी इन्द्र कुमारी दर्जीले १०८ मत प्राप्त गरिन् ।

त्यसै गरि खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका सुदन राईले २४० र विश्वजित चाम्लिङले २४६ मत प्राप्त गरि विजयी भएका हुन् । नेपाली कांग्रेसका भविन्द्र राईले २०३ र अम्बर बहादुर तामाङले १७३ मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका गोविन्द बहादुर कार्कीले ९३ र आस राम राईले १०७ मत प्राप्त गरेका थिए ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…