भोजपुरमा टाइफाइड रोग विरुद्ध खोप अभियान शुरु हुदै : जिल्लाका ४५ हजार बालबालिकालाई लगाइने लक्ष्य
- समाचार
- April 3, 2022
-अर्जुन राई अपहेलित
भोजपुर । जिल्ला स्वास्थ्य कार्यलय भोजपुरको आयोजनामा टाइफाइड रोग विरुद्ध खोप अभियान सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।
शनिबार टाइफाइड रोग विरुद्ध खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्बन्धि सञ्चारकर्मीबीच अभिमुखिकरण तथा अन्तरक्रिया गरिएको हो ।
विगतमा सञ्चार गृहले कोभिड १९ नियन्त्रणका लागि प्रभावकारी भुमिका निर्वाह गरेकाले टाइफाइड विरुद्ध खोप अभियान प्रचारप्रसार सम्बन्धि सञ्चारकर्मी बीच अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।
यहि चैत २५ देखि २०७९ वैशाख १८ सम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा देशभरका १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । सोही खोप अभियान अन्तर्गत भोजपुरमा करिब ४५ हजार बालबालिकालाई उक्त खोप प्रदान गरिने स्वास्थ्य कार्यलय भोजपुरले जानएको छ ।
यसअघि बालबालिकालाई नियमित रुपमा १२ प्रकारका रोग विरुद्धको खोप लगाउने गरिएको तर अब भने टाईफाईट विरुद्धको खोप पनि नियमित खोप कार्यक्रम अन्तर्गत समावेश गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तीवारीले बताए ।
खोप अभियानमा ९ वटा स्थानीय तह रहेको भोजपुरको भोजपुर नगरपालिकामा ५१, षडानन्द नगरपालिकामा ६९, हतुवागढी गाउँपालिकामा ४०, अरुण गाउँपालिकामा ३७, साल्पासिलिछो गाउँपालिकामा २८, रामप्रसादराई गाउँपालिकामा ३५, आमचोक गाउँपालिकामा ४३, टेम्केमैयुङ गाउँपालिकामा ४२ र पौवादुङमा गाउँपालिकामा ३६ गरि जम्मा ३ सय ८१ खोप केन्द्र तोकिएको छ ।
१५० जना भन्दा बढी विद्यार्थी संख्या रहेको प्रत्येक विद्यालय र स्वास्थ्य केन्द्रलाई टाइफाइड विरुद्ध खोपकेन्द्र तोकिएको छ । स्वास्थ्य केन्द्र आइपुग्न ४/५ घण्टा लाग्ने तर विद्यार्थी संख्या न्यून रहेका विद्यालयमा पनि खोपकेन्द्र तय गरिने भएको छ ।
देशभरका ७५ लाख बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको हो । जसमध्ये भोजपुरका ४५ हजार बालबालिकालाई उक्त खोप लगाईने लक्ष्य रहेको प्रमुख तिवारीले बताए ।
खोप अभियानका लागि साल्पासिलिछोमा ३९ स्वास्थ्यकर्मी ५८ स्वयंसेवक, षडानन्द न.पा. मा १०८ स्वास्थ्यकर्मी २१० स्वयंसेवक, भोजपुर न.पा. मा ८४ स्वास्थ्यकर्मी १५५ स्वयंसेवक, अरुण गापामा ४१ स्वास्थ्यकर्मी ७४ स्वयंसेवक, पौवादुङ्मामा ४८ स्वास्थ्यकर्मी ९६ स्वयंसेवक, टेम्केमैयूममा ५५ स्वास्थ्यकर्मी ११० स्वयंसेवक, रामप्रसाद राई गापामा ५० स्वास्थ्यकर्मी ७५ स्वयंसेवक, हतुवागढीमा ५५ स्वास्थ्यकर्मी ११० स्वयंसेवक र आमचोकमा ५५ स्वास्थ्यकर्मी १०८ स्वयंसेवक गरि जम्मा ५ सय ३५ स्वास्थ्यकर्मी र ९ सय ९६ स्वयमसेवक परिचालन गरिने स्वास्थ्य कार्यलयले जनाएको छ ।
जिल्ला भरिका करिब ३४ हजार ६ सय ७८ जना विद्यालयका र ७ हजार ६ सय ९० जना विद्यालय बाहिरका बालबालिकालाई लक्षित गरि खोप लगाइने भएको छ ।
अधिकांश निश्चित उमेर समुहका बालबालिकामा टाइफाइडको संक्रमण देखिएकाले उमेर समूह निर्धारण गरि खोप वितरण गर्न लागिएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
चैत मसान्तसम्ममा खोप वितरण गरिसक्ने स्वास्थ्य कार्यलय भोजपुरको योजना छ । खोप लगाउन बाल्बालिका सँगै उपस्थित आमाहरुलाई समेत स्वास्थ्य सुरक्षा सम्बन्धि सचेतना साथै अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ भोजपुर अध्यक्ष एक्सन राईले टाइफाइड विरुद्ध खोप अभियान स्वास्थका साथै व्यवहारिक हिसाबले पनि महत्वपूर्ण रहेको बताए । जिल्लालाई खुल्ला दिसापिसाब मुक्त घोषणा गरे सँगै विभिन्न प्रकारका रोगको संक्रमणमा कमि आएको उल्लेख गर्दै अध्यक्ष राईले पछिल्लो समय कोरोना संक्रमणले स्वास्थ्य सम्बन्धि सचेतना जगाएको बताए ।
अध्यक्ष राईले टाइफाइड विरुद्ध खोप अभियानलाई पत्रकार महासंघको तर्फबाट र समग्र सञ्चारको माध्यमबाट सफल बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।