तथ्यभन्दा बाहिर : वर्तमान राजनीतिमा झोलेवाद
- राजनीति
- December 2, 2025

– बालकृष्ण काफ्ले
नेपालको लोकतान्त्रिक राजनीति औपचारिक रुपमा ३० वर्षभन्दा बढीको यात्रामा दौडिरहेको छ। २०४६ को जनआन्दोलन पश्चात निकै उतारचढावमा गुज्रिएको राजनीतिमा देखिएको एक गहिरो र बहुतै चर्चित राजनीतिक रोग हो – झोलेवाद।
राजनीतिक–सन्दर्भमा झोलेको अर्थ हुन्छ, नेताको पछि झोला बोकिदिने कार्यकर्ता, नेताको व्यक्तिगत सेवा–सहयोगमा सीमित समर्थक, विवेकभन्दा वफादारी मा चल्ने अनुयायी, आलोचना सुन्न नसक्ने अन्धसमर्थक, भीड–मानसिकतामा बग्ने कार्यकर्ता इत्यादि ।
झोलेवाद यस्तो प्रवृत्ति हो जसले पार्टी, व्यक्ति, आन्दोलन जसलाई पनि अन्धाधुन्द समर्थन गर्दछ। कसैले गरेको आलोचनालाई शत्रुतामा बदलिदिन्छ। नारा र हल्लाखल्लालाई नीतिभन्दा नै माथि राखिदिन्छ र संस्थालाई भन्दा पनि व्यक्तिलाई ठूलो बनाइदिन्छ। यो नेपालका सबै पुराना र नयाँ दलहरूमा समान रूपमा फैलिएको राजनीतिक महामारी हो।
झोलेवादी प्रवृत्तिले हामीलाई कहीँ पुर्याउँदैन बरु यसले राजनीतिक प्रक्रिया र समाजमा गहिरो असर पुर्याइरहेको छ।
२०४६ को बहुदलीय व्यवस्थापछि पार्टीहरू स्थानीय गाउँ र नगरसम्म गठन हुन थाले। संगठन विस्तार हुदै जाँदा कामभन्दा मान्छे हेर्ने बानी र नेतामात्रै महान् ठान्ने (व्यक्ति पुज्ने संस्कार) सोच पनि फैलदै गयो। माओवादी युद्ध,२०६२/६३ को जनआन्दोलन, विभिन्न गुटबन्दी, आन्दोलन-आन्दोलन बीचमा भएको राजनीति यी सबैले झोलेबादलाई बलियो बनायो। विश्वभरि नै तीव्रतासँगै फैलिएको सामाजिक सञ्जालको प्रभावसगै नेता अनुसार टिम बने, गाली गर्ने, बचाउने, ट्रोल गर्ने समूहहरु तयार भए। यही क्रमसँगै जन्मियो ‘डिजिटल झोलेवाद’—एक यस्तो अनलाइन प्रवृत्ति, जसको प्रभाव अहिले छताछुल्ल फैलिएको छ। यस्ता कार्यकर्ताहरू व्यक्तिबारे बोल्न निकै सजिलो ठान्छन, तर तथ्यबारे बोल्न गाह्रो पर्छ। यिनिहरुको आलोचना हुँदा तटस्थ हैन, भावनात्मक प्रतिक्रियाले भरिएको भीडजस्तै उग्र प्रस्तुत हुन्छन्। परिणामस्वरूप, राजनीतिक बहसमा संगठनभन्दा नेता वा व्यक्तिप्रति निष्ठा नै बढी महत्व पाउन थाल्दैछ। अहिलेको नेपालमा पनि यस्ता झोले प्रवृत्तिहरू सामाजिक सञ्जालदेखि मिडिया र स्थानीय राजनीतिसम्म प्रस्ट देखिरहेको छन।
नेपालको राजनीतिमा झोलेहरूले कुनै नेता,पार्टी वा विचारधारालाई बिना प्रश्न बिना तथ्य तथ्याङ्क केवल भावना बगेर हचुवामा समर्थन गर्दछन्। झोलेहरु ती हुन जसले प्राय: नेताका हरेक निर्णयलाई सही ठान्दछन् र आलोचना सहन सक्दैनन् । यिनको उपस्थितिले पार्टीभित्रको लोकतान्त्रिक बहस कमजोर पारिरहेको छ।
२०७९ को निर्वाचनमा उदयसँगै मुख्य- अनलाइन प्लेटफर्ममा देखिएकाहरूमा नेतृत्वले बोलेको प्रत्येक कुरा शतप्रतिशत सत्य ठान्ने अन्धलहर छ । सोसियल मिडियाहरूमा पार्टी, नेताको कुनै पनि आलोचना आयो भने तथ्य जाँच्नेभन्दा पहिला त्यो आलोचकलाई पुरानो दलको एजेन्ट हो भन्ने प्रवृत्ति बलियो देखिन्छ । नयाँ राजनीतिक सोच, सुशासन र सुधारका बहसहरू कता हो कता उल्टो नेता/पार्टीको छवि जोगाउन बिना तर्क डिफेन्समा सक्रिय देखिन्छन् ।
पुराना दलहरूमा झोलेवादको गन्ध गुटगतता मार्फत प्रकट भएको देखिन्छ। भविष्यको नेतृत्व कसले गर्ने? कुन लाइन सही ? कसले टिका लगाईदिएको ? जस्ता विषयमा गुट अनुसार अन्ध समर्थन देखिन्छ। अब बहस वा निति भन्दा नेता केन्द्रित अथवा व्यक्तिगत निष्ठा महत्त्वपूर्ण भैसकेको देखिन्छ र घटना जे भएपनि”आफ्नो लाइन”को बचाउ गर्नु नै मुख्य लक्षण बनेको छ । कतै झोलेवाद नेतृत्व केन्द्रित रुपमा संगठित देखिन्छ। दलको निर्णय नै अन्तिम सच्चाइ भन्ने मानसिकताले पार्टीभित्र आलोचनात्मक आवाज कमजोर बनाएको छ । त्यति मात्र होइन यहाँ झोलेवाद अत्याधिक व्यक्तिमुखी शैलीमा प्रकट हुन्छ । कसैको स्टाटसमा कति लाइक–कमेण्ट आयो भनेर मात्रै हेरेर बस्छन् र त्यसैलाई अन्तिम सत्य ठान्छन् । काठमाडौँ मात्रै नभई सिङ्गो मुलुक एक्लैले रुपान्तरण गर्छन् भन्ने भ्रमले नेतृत्वको मूल्य घटाउने जोखिम बढिरहेको देखिन्छ ।
पछिल्लो समय पार्टी वा नेता र कार्यशैली प्रती आलोचना वा फरक विचार उठाएमा तुरुन्तै अपशब्द प्रयोग गरेर भएपनि प्रतिक्रिया दिन्छन् । यस्तो अन्धरक्षा शैलीले स्थानीय तथ्यगत मुद्दामा बहस हुने ठाउँ सानो बनाएको देखिन्छ । राजा र परम्परालाई सर्वोच्च मान्नेहरू फरक विचारको आलोचना कमै सुन्छन् । जातीय नारा र समुदाय केन्द्रित दृष्टिकोण लिएका समूहमा अन्य समुदाय लक्षित झोलेवादको उग्ररूप पाइन्छ । नयाँ समूह वा स्वतन्त्र अभियानहरूमा पनि झोलेवादको नयाँ रूप देखिन्छ जहाँ नीति वा दृष्टिकोणभन्दा “पुराना सबै गलत हाम्रैबाटो सही” भन्ने अत्याधिक सोचले आलोचना र समीक्षा स्वीकार्न कठिन बनाएको छ ।
अनलाइन प्लेटफर्महरू फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामले झोलेवादलाई तीव्र गतिमा फैलाएको छ । ह्यास्ट्याग मा आधारित भिड, ट्रोलिङ, अतिरञ्जित प्रचार, AI दुरुपयोगले तथ्यभन्दा भावना र व्यक्ति केन्द्रित समर्थनलाई बलियो बनाएको छ। कसैले केही कुरा विश्लेषण वा तथ्यसहित उठाएमा तुरुन्तै झोले भन्दिने प्रवृत्ति देखिन्छ। कसैको तस्बिर र भिडियो राखेर मान–मर्यादा गिर्ने गरी पनि आलोचना गरिन्छ। सामाजिक सञ्जालमा झोलेहरू प्रायः नेताप्रति अन्धो निष्ठा देखाउने, आफ्नै लाइन बचाउने, र विरोधलाई दबाउने शैलीमा सक्रिय बनिरहेको देखिन्छ।
अन्त्यमा, झोले शब्दको अतिरञ्जित प्रयोग र झोलेवादी प्रवृत्तिले हामीलाई कहीँ पुर्याउँदैन बरु यसले राजनीतिक प्रक्रिया र समाजमा गहिरो असर पुर्याइरहेको छ। व्यक्तिगत केन्द्रित समर्थन र डिजिटल प्ल्याटफर्ममा फैलिएको अतिरञ्जित प्रचारले नीति निर्माणलाई सस्तो लोकप्रियतामा सीमित बनाइरहेको छ। संस्थागत लोकतन्त्र कमजोर भएर निर्णयहरु पार्टी वा नेता केन्द्रित भइरहेका छन् र आलोचनात्मक बहस तथा तथ्य आधारित सार्वजनिक संवाद हराउँदै गएको छ। सामाजिक सञ्जालको प्रभावले युवा वर्गमा राजनीतिलाई नारा, होहल्ला र भिडको खेलजस्तो देखाउन थालेको र जसले विवेकपूर्ण राजनीतिक सोचलाई कमजोर बनाएको छ। झोले र झोलेवादले न व्यक्तिको बौद्धिकता बढेको छ न पार्टी र नेताको इमेज बलियो बनाएको छ । यसले समग्र लोकतन्त्र र सुशासनको गुणस्तरमा चुनौती उत्पन्न गरिरहेको देखिन्छ। झोलेवाद बहस र आलोचनालाई कमजोर बनाउने र तथ्यभन्दा भावना प्राथमिक बनाउने खतरनाक व्यवहार हो। त्यसैले सचेत भएर तथ्य, नीति र विचारमा विश्वास गर्नु मात्र देश र समाजका लागि उपयोगी हुनेछ ।