बृहत हतुवागढी महोत्सव २०८१ सम्पन्न
- समाचार
- November 4, 2024
घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र घोडेटारमा आयोजित बृहत हतुवागढी महोत्सव २०८१ सम्पन्न भएको छ।
हतुवागढी गाउँपालिकाको प्रायोजन तथा भोजपुर उद्योग बाणिज्य संघ शाखा कार्यलय घोडेटारको आयोजनामा कार्तिक ३ गते देखि जारी रहेको महोत्सव १४ औं दिनमा शुक्रबार सम्पन्न गरिएको हो ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सवको समापन हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गरेका हुन् । किरात राई जातिको साँस्कृतिक नृत्य साकेन्वा सिलि, मगर जातिको हुर्रा साथै मारुनी नाच, पञ्चेबाजाको साथमा उद्धघाटन गरिएको महोत्सवको प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
महोत्सवमा १५ भन्दा बढी स्टलहरु राखिएका थिए । स्थानीय उत्पादन प्रदर्शन र बिक्री वितरणका लागि निशुल्क गरिएको स्टलमा मौलिक तथा जातीय वेशभूषा, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामग्री, कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका थिए ।
समतामूलक समाज र समुन्नत हतुवागढी कृषि उद्यम पर्यटन पूर्वाधार र प्रविधि भन्ने मूल नाराका साथ भाषा भेषभूषा रैथाने संस्कार संस्कृतिहरूको संरक्षण , पर्यटन रोजगारी स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजित महोत्सवको अवसर पारेर हतुवागढी खेलकुद विकास समितिले पहिलो पटक हाफ हिल म्याराथन प्रतियोगिता आयोजना गरेको हो । भोजपुर जिल्लाकै होचो भूभाग माइबेनी स्थित कोप्चेबाट घोडेटार बजार सम्म गराइएको दौडमा झापा, पाँचथर, संखुवासभा लगायतको जिल्लाबाट धावकहरुको सहभागिता रहेको थियो ।
महोत्सव उद्घाटन सँगै वडा स्तरीय र पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समेत सम्पन्न गरेको छ । त्यस्तै घोडेटार बजार स्थित दुई कोर्ट रहेको बहुउद्देश्यीय कभर्डहल उद्घाटन गरिएको हो । उक्त कभर्डहल उद्धघाटनको अवसर पारेर जिल्ला स्तरीय डबल ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
महोत्सवमा एलिना चौहान, तेजेन्द्र गन्दर्भ, श्रीकृष्ण लुइँटेल, अस्मिता अधिकारी, कालिप्रसाद बास्कोटा, इन्द्रकला राई, मनोज साङसोन र सुरेश पायल राई लगायतका चर्चित कलाकार हरुको प्रस्तुति रहेको थियो । महोत्सव समापन सँगै स्थानीय कलाकारहरुलाई सम्मान समेत गरिएको थियो