होम्ताङमा साकेन्वा मेला २०८०: हतुवाली सिली प्रतियोगिता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित होम्ताङमा साकेन्वा उधौली मेला २०८० हुने भएको छ ।

साकेन्वा संरक्षण तथा पुजा समिति हतुवागढी ५ को आयोजनामा मंसिर ३ देखि ११ गते सम्म उक्त मेला सञ्चालन हुने भएको हो ।

किराती समुदायको उधौली चाडको अवसर पारेर स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको हतुवागढी वडा नं. ५ का अध्यक्ष सुरेश कुमार राईले बताए । वडाध्यक्ष राईका अनुसार मंसिर ३ गते मेलाको उद्घाटन भई ११ गते सोमबार होम्ताङ साकेन्वा सँगै समापन हुनेछ ।

मेलाको अवसरमा खुल्ला शिलि प्रतियोगिताको आयोजना गरिएको छ । सिली प्रतियोगितामा सहभागिताको लागि मंसिर ४ गते सम्म आयोजक समक्ष समूह दर्ता गरिसक्नुपर्ने जारी सुचनामा उल्लेख छ । उक्त प्रतियोगिता मेलाको चौंथो दिन अर्थात मंसिर ६ गते साकेन्वा फुटबल खेल मैदान हतुवागढी ५ र ६ स्थित हुनेछ । किराती भेषभुषामा सजिएर एक टिममा कम्तिमा ११ जनाको समूह प्रतियोगितामा सहभागि हुन पाउने आयोजकले जनाएको छ ।

सिली प्रतियोगितामा प्रथम हुने समूहले रु. १५ हजार, दोस्रोले रु. १० हजार र तेस्रो हुने समूहले रु. ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

किरात राई जातिको विशेष पर्व हो उधौली र उभौली । यस अवसरमा आफ्नै भेषभूषामा किरात राईहरु साकेला, साकेन्वा नाच्ने गर्दछन् । राई जातिको नृत्य ठाउँ र थरगत भाषा अनुसार फरक फरक पाइएपनि भोजपुरको हतुवागढी, आमचोक, रामप्रसाद राई गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिका क्षेत्रमा साकेन्वा भन्ने गरिन्छ । साकेन्वाको अवसरमा गीत गाउँदै नाचिने भएकाले लाकछाम पनि भन्ने गरिन्छ । किरात राई बान्तावा भाषामा लाक भनेको नाच र छाम भनेको गीत भन्ने हुन्छ । साकेन्वा लाकछाममा विभिन्न जनावर र चराचुरुङ्गीको नक्कल गर्दै कृषि उत्पादन प्रकृयाको जीवन्त अभिनय पाइन्छ । यसरी फरक फरक अभिनय गर्ने प्रकृया सिली हो । जसलाई हतुवा क्षेत्रमा हतुवाली सिली भनेर बुझिन्छ ।

हतुवागढी क्षेत्र किरात राई जातिको बाहुल्यता रहेको ठाउँ हो । बाइुसे चौबिसे राज्य हुँदा हतुवागढीको वालाहाङ वंशका सुनाहाङ राजाले राज्य गरेको इतिहास छ । किरातीहरुको महत्वपूर्ण चाड उधौलीको अवसरमा हतसवागढीको होम्ताङमा पहिलो पटक साकेन्वा मेला हुन लागेको हो । मेलाको अवसरमा डोरी तान प्रतियोगिता, भलिबल प्रतियोगिता रहनेछन् । रोटेपिङ र लिङ्गे पिङ मेलामा आकर्षणको रुपमा रहनेछ भने स्थानीय उत्पादन र बिक्री वितरणका लागि स्टलहरु निर्माण गरिनेछन् । स्टलहरुमा स्थानीय उत्पादनको प्रदर्शन र प्रवद्र्धन गरिने छ । प्रत्येक साँझ आमन्त्रित कलाकार र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ साँगितिक साँझ समेत हुनेछ ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…