भोजपुरको होम्ताङमा मंसिर ३ देखि सिली मेला र विभिन्न प्रतियोगिता
- समाचार
- November 7, 2023
घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित उधौली सिली मेला सञ्चालन हुने भएको छ ।
आयोजक साकेन्वा संरक्षण तथा पुजा समितिले मंगलबार (आज) पत्रकार सम्मेलनको आयोजना गरि मंसिर ३ देखि ११ गते सम्म उक्त मेला सञ्चालन हुने जनाएको हो ।
किराती समुदायको उधौली चाडको अवसर पारेर स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको हतुवागढी वडा नं. ५ का अध्यक्ष सुरेश कुमार राईले बताए । वडाध्यक्ष राईका अनुसार मंसिर ३ गते मेलाको उद्घाटन भई ११ गते सोमबार होम्ताङ साकेन्वा सँगै समापन हुनेछ ।
उक्त मेलामा हतुवा सिली प्रतियोगिता, डोरी तान प्रतियोगिता, हतुवागढी ५ र ६ टोल विकास संस्था स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सत्तचालन हुनेछ ।
मेला अवधीभर प्रत्येक साँझ आमन्त्रित एवं स्थानीय कलाकारको गायन, नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ । रोटे पिङ, लिङ्गे पिङ साथै स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री वितरण मेलाको प्रमुख आकर्षण रहने छ ।
हतुवागढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको उक्र मेलामा हतुवागढी गाउँपालिका वडा नं. ५ र ६ को संयुक्त रुपमा सहप्रायोजन रहनेछ ।