भोजपुरको हसनपुर स्थित जनसेवा माविमा पहिलो पटक कक्षा ११ को पढाइ सुरु
- समाचार
- September 14, 2022

२९ भाद्र, हतुवागढी । भोजपुरको हतुवागढी गाउँपालिकाको एक सामुदायिक विद्यालयमा कक्षा ११ को पठनपाठन सुरु गरिएको छ ।
हतुवागढी वडा नं. ९ हसनपुर स्थित जनसेवा माध्यमिक विद्यालयमा पहिलो पटक कक्षा ११ को पढाइ सुरु भएको हो ।
कक्षा दशभन्दा माथि पढाइ हुने शिक्षालय नहुँदा यसअघि यस क्षेत्रका विद्यार्थी हतुवागढी-१ घोडेटार, भोजपुर, सुनसरी र मोरङका विद्यालयहरुमा गएर पढ्ने गरेका थिए ।
यस क्षेत्रमा उच्च शिक्षाका लागि विद्यालय नहुँदा तथा आर्थिक अभावकै कारणले धेरै विद्यार्थीले अन्य ठाउँ गएर पढ्न नसक्दा बिचैमा पढाइ छाड्नु पर्ने बाध्यता रहेको छ । शैक्षिक सत्र २०७९ बाट शिक्षाशास्त्र संकाय अन्तर्गत तीन वटा एच्छिक विषय राखेर पहिलो पटक कक्षा ११ को पढाइ सुरु गरिएको विद्यालयका प्रधानध्यापक जनक राईले बताए ।
प्रधानध्यापक राईले भने, ‘गणित, विज्ञान लगायतका विषय पढ्न विद्यार्थीहरुको ग्रेड पुग्दैन, विद्यार्थीहरु पढ्नबाट बन्चित नहोस् भनेर विद्यालयको स्रोत साधनको क्षमताले भ्याए अनुसार कक्षा ११ को पढाइ सुरु गरेका छौं ।’
सुरुवात चरणमा अन्य संकायका पढाइ सञ्चालन गर्न नसक्दा स्थानीय विद्यार्थीहरू समेत रोक्न नसकिएको प्रधानाध्यापक राईले बताए । विद्यालयमा कक्षा ११ काे पढाइ सञ्चालन गर्न भन्दा ती विद्यार्थीले भोलि ल्याउने नतिजा प्रति आफू चिन्तित रहेको उनको भनाइ छ ।
पहिलो पटक सञ्चालन गरिएको हुँदा विद्यार्थीको उपस्थिति सामान्य रहेको छ । केही समय भर्ना थप गरिएकोले विद्यार्थीहरूको आउने क्रम जारी रहेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार कक्षा ११ का विद्यार्थीलाई सेतो सर्ट र कालो रंगकाे पाईन्ट विद्यालय पोशाक छनोट गरिएको हो ।
विद्यालयमा कक्षा ११ पढाइ सुरु गरिएपछी धनकुटा जिल्लाको सिम्ले, आमचोक गाउँपालिकाको डुम्रे, हतुवागढी गाउँपालिकाको वडा नं. ८ र हसनपुरका विद्यार्थीहरु लाभान्वित हुने भएका छन् ।