नेकपा एसको नेतृत्व चयनका लागि आज मतदान हुँदै
- राजनीतिसमाचार
- July 4, 2024
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । नेकपा एसकाे नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार छन् ।माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो ।
नेतृत्व चयन सकेसम्म सहमतिमा र सहमति नभए मतदानमार्फत् गर्ने तयारी गरिएकाे छ । महाधिवेशनको तेस्रो दिन हिजो महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको थियो । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । आज मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ ।
प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।