सन्दिप लामिछानेको क्रिकेट मैदानमा फर्कने बाटो खुल्ला
- खेलकुद
- February 1, 2023

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ ।
मंगलबार (हिजो) बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
गत भदौ २३ मा किशोरी बलात्कारको आरोप लागेपछि पक्राउ परेका लामिछानेलाई क्यानले निलम्बन गरेको थियो । केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने बाटो खुलेको छ ।